Advertisements
जिल्ला विकास समिति कास्कीका स्थानीय विकास अधिकारी (एलडिओ) दामोदर भण्डारीले लेखनाथमा जथाभावी डाँडा खार्ने काम तत्काललाई रोकिने र क्षेत्राधिकार मिच्नेलाई कारबाही गर्ने बताएका छन् । उनी नेतृत्व टोलीले स्थलगत अवलोकन गरेको थियो । पछिल्लो समय लेखनाथमा प्राकृतिक स्वरुप बिग्रने जिविसले तोकेको क्षेत्र अधिकार बाहिर काम भएको गुनासो आएपछि एलडिओ भण्डारीले त्यसलाई तत्काल रोक्न लगाएका थिए ।

शुक्रबार एलडिओसहित जिल्ला प्राविधिक कार्यालय प्रमुख इन्जिनियर नारायणश्रेष्ठ, जिविसका योजना अधिकृत किर्तनराज पौडेल लगायत स्थलगत अवलोकनमा गएका हुन् । टोलीले लेखनाथ–१ खल्याण, कोत्रे र खुदीखोला छेउछाउमा स्थलगत अवलोकन गरेको थियो। जिविसको अनुमतिभन्दा बाहिर काम भएको देखिएको एलडिओ भण्डारीले जानकारी दिए । ‘केही ठाउँमा गलतनै भएको छ,’ उनले भने, ‘आइतबार प्रविधिक टोली खटाएको छु ।’ प्रविधिक टोलीले ल्याएको रिपोर्टको आधारमा कारबाही हुने उनको भनाइ छ ।

‘सुकेडाँडामा नियम विपरीत काम भएको छ,’ उनले भने, ‘जिविसले त्यसरी डाँडा खन्न दिँदैन, मनपरी गरेको पाइयो ।’ सुकेडाँडा लगायतमा अहिले काम रोक्न लगाएको उनले बताए । ‘जहाँजहाँ जिविसले अनुमति दिएको छ, त्यस क्षेत्रमा पनि खार्ने काम बन्द गराएका छौं ।’ जिविसले अनुमतिदिएपछि जग्गाधनीले त्यसको पालना गर्नुपर्ने उनले बताए । ‘अनुमति लिएपछि नियम अनुसारै काम गर्नुपर्छ,’ उनले भने, ‘अनुमति पत्रको निर्देशन र सर्त पालना गर्नुपर्छ ।’

मनपरी ढंगले उत्खनन नगरुन भनेरनै जिविसको स्वीकृत लिनुपर्ने नियम बनाएको योजना अधिकृत पौडेलले बताए । ‘पहिला जग्गाधनीले आफ्नो जग्गामा मनपरी गर्थे, जिविसिको अनुमति लिनुपर्ने नियम आएको डेढवर्ष मात्र भयो,’ उनले भने, ‘त्यही भएर पनि हामीले पूर्ण नियन्त्रणमा लिन सकेका छैन, केही समय लाग्छ ।’

जग्गाधनीले पनि एउटा प्रयोजनका लागि जग्गा खार्ने काम मागेर अर्को उद्देश्य निम्ति काम गरेको पाइएको पौडेलले बताए । ‘जिविसको नियम अनुसार कृषि प्रयोजनका लागि मात्र जग्गा सम्याउन पाउने व्यवस्था छ, त्यो पनि १.५ मिटर उचाई मात्र खार्न पाइन्छ,’ उनले भने, ‘अनुगमन नहुँदा उनीहरुले आफ्नो ढंगले मनपरी गरेको पाइन्छ ।’

अनुगमन गर्न छुट्टै टोलीआवश्यक रहेको उनी बताउँछन् । ‘यहाँका प्राविधिकको धेरै काम हुन्छ, सबै ठाँउमा जान समय पुग्दैन,’ उनले भने, ‘यसका लागि छुट्टै टोली चाहिन्छ जसले बालुवा र माटो उत्खननको पाटो छुटाछुटै अनुगमन गरेर जिम्मा लिनुपर्छ ।’

लेखनाथमा अहिले डाँडा खार्ने काम रोकिएपछि स्थानीय खुसी भएका छन् । ‘हामी निकै खुसी छौं,’ एक स्थानीयले भने, ‘डाँडा काट्ने काम पहिलेनै रोकिनुपर्ने हो तर ढिलै भएपनि रोकियो ठिकै भयो ।’ ठेक्का पाएका टोले गुन्डाहरु विभिन्न नेतासाममु गुहार्न पुगेको स्रोतले बतायो ।

‘डर धाकधम्की देखाएर खाने काम बन्द भएपछि छट्पटाइरहेका छन्,’ स्रोतले भन्यो, ‘उनीहरूले नेता र केही उच्च पदका कर्मचारीसँग गुहार मागेका छन् ।’पछिल्लो समय लेखनाथको दिपाङ ताल छेउछाउ, भण्डारढिक, लामास्वाँरा, अर्चले,खल्याण, वनपोखरी, कोत्रे लगायत ठाउँमा मनपरी उत्खनन हुने गरेका थिए ।




स्रोत : समाधान

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top